बैतडी - सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी वर्षा हुने तथा मनसुनजन्य विपद्को जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बैतडीमा भारी वर्षाको जोखिम रहेकाले ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । भदौ २ गते मंगलबार बेलुका ७ बजेदेखि भदौ ४ गते बिहीबार बिहान ५ बजेसम्म ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताए ।
पक्की सडकमा समेत सावधानीपूर्वक सवारी सञ्चालन गर्न र सतर्कता अपनाउन सबै सवारी चालकलाई अनुरोध गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १ गते आइतबारदेखि भदौ ३ गते बुधबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने र मनसुनजन्य प्रकोपका कारण विपद्को जोखिम हुन सक्ने जनाएको छ। सोही अवस्थालाई मध्यनजर गर्दै बैतडीलाई समेत जोखिमपूर्ण जिल्लाका रूपमा राखिएकाले प्रशासनले सावधानी अपनाउन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय बैतडीले भदौ २ गते बिहानदेखि भदौ ४ गते बिहीबार बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। विशेषगरी नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले खोलानदी नजिक नजानसमेत प्रशासनले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा जारी सूचनामा सम्भावित विपद्का घटनाबाट जोगिन नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिम रहने भएकाले विशेष सावधानी आवश्यक रहेको प्रशासनले जनाएको छ। प्रशासनले विपद्को अवस्था उत्पन्न भएमा तत्काल उद्धार तथा सहयोगका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को नम्बर १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रशासनले वर्षाको समयमा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन, नदी तथा खोलाको बहाव बढेको अवस्थामा आवतजावत नगर्न र स्थानीय तह तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत आग्रह गरेको छ।




