Sagun Khabar
रातापानी पहिरो प्रभावित क्षेत्रमा सिडिओसहितको टोलीद्वारा निरीक्षण, सात परिवारलाई स्थानान्तरण गर्नुपर्ने 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–८ ढोले,रातापानी टोलमा खसेको पहिरो प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । 

प्रमुख जिल्ला अधिकारी मीना अर्याल नेतृत्वको टोलीले शुक्रबार पहिरो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेको हो । 

रातापानी टोलमा पहिरोका कारण सात परिवार जोखिममा रहेका र उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

पहिरोका कारण स्थानीयहरुलाई वारीपारी जान समेत समस्या भएकाले स्काभेटरले पहिरो पन्छ्याउने काम भइरहेको छ । 

पहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि त्रिपाल लगायतका सामग्रीहरुको जोहो गर्नुपर्ने र यसका लागि सरोकारवाला निकायहरुसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

पहिरो प्रभावित क्षेत्रमा खानेपानीको समेत समस्या रहेको छ । उक्त क्षेत्रमा खानेपानी सुचारुका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध भएको विद्युत भने सुचारु भइसकेको छ । 

रातापानी टोलमा २०७४ सालदेखि खसीरहेको पहिरोले हरेक बर्षातमा दुःख दिने गरेको छ । पहिरोले स्थानीयहरुको घर –खेत जोखिममा पारेको स्थानीय रामसिंह बोहराले बताए । 

पहिरोको दीर्घकालिन रोकथामका उपाय खोज्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । पहिरो प्रभावित क्षेत्रमा सुरक्षित स्थानमा सार्नुपर्ने परिवारका लागि अस्थायी बसोबासको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, खानेपानी, वन, विद्युत लगायतका सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update