Sagun Khabar
सुदूरपश्चिममा मन्त्रिपरिषदले पूर्णता पायो 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएसँगै प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधार विकासमन्त्रीमा ओमविक्रम भाट ‘सरल’, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा प्रकाश रावल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा खुसीराम डगौरालाई नियुक्त गरेका छन् । 

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा इन्दिरा गिरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जानकी कुँवर नियुक्त भएका छन् । 

नवनियुक्त मन्त्रीहरूलाई सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका छन् भने राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

यसअघि मुख्यमन्त्री भट्ट नियुक्त भएकै समयमा नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका थिए । एमालेबाट सन्तोषकुमारी थापा शर्मालाई सामाजिक विकासमन्त्री, चक्रबहादुर मल्ललाई आर्थिक मामिलामन्त्री, दमनबहादुर भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बमलाई आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । 

नयाँ नियुक्तिसँगै मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको प्रदेश सरकारमा रहेका सबै मन्त्रालयको जिम्मेवारी टुंगिएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update