Sagun Khabar
सुर्नयाको रातापानीमा पहिरोको त्रास

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीका स्थानीबासिन्दाहरु पहिरोको त्रासमै बस्न बाध्य भएका छन् । 

२०७४ सालदेखि रातापानीमा खसीरहेको पहिरोले यो बर्ष पनि क्षति पुर्याएपछि स्थानीबासिन्दाहरु त्रसित बनेका हुन् । गएको साउन २६ गते पहिरोले खेतीयोग्य जमीनमा क्षति पुर्याएको स्थानीय मीना बोहराले बताइन् । त्यसयता लगातार रुपमा पहिरो खसीरहेको उनले बताइन् । उनले भनिन्,‘पानी पर्न शुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ ।’

पहिरोले स्थानीबासिन्दाका शौचालय, भान्साघर लगायतका संरचनामा क्षति पुर्याएको स्थानीय भुवन बोहराले बताए ।   

गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखिममा रहेका छन् । स्थानीय रामसिंह बोहरा, धनुवा बोहरा, मीना बोहरा, गम्भिरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा रहेको छ । 

लगातारको पहिरोका कारण गाउँ नै त्रासमा रहेको स्थानीय लालबहादुर बोहराले बताए । पानी परेको समयमा घर छोडेर छिमेकीको घरमा जाने गरेको उनले जानकारी दिए । 

२०७४ सालदेखि खस्न थालेको पहिरोले २०७६ सालदेखि विकराल रुप लिन थालेको स्थानीय रामसिंह बोहराले बताए । पहिरो रोकथामका लागि सम्बन्धित निकायसँग माग गर्दै आएको भएपनि सुनुवाई नभएको स्थानीयबासीको आरोप रहेको छ । 

स्थानीयले पहिरो जोखिम कायमै रहेकाले बस्ती नै सार्नुपर्ने माग गरेका छन् । स्थानीय कृष्ण बोहराले भने, ‘घरमाथीको सबै जमिन चर्किएको छ । खानेपानीको पनि समस्या छ। बालबालिकालाई विद्यालय जान बाटो छैन् ।’

स्थानीय गम्भीर बोहराले लगातारको पहिरोका कारण आफ्नो मात्रै करिब १५ रोपनी बढी खेतियोग्य जमिनमा क्षति पु¥याएको बताए । बाँकी जमिन पनि चर्किएकाले थप क्षति हुन सक्ने स्थानीयले बताएका छन् । सुर्नया गाउँपालिका–८ वडाअध्यक्ष भानबहादुर बोहराले ४० रोपनीबढी मकैबाली लगाएको खेतियोग्य जमिनमा क्षति पु¥याएको  बताए । सो क्षेत्रमा मात्रै ४० रोपनी बढी खेतियोग्य जमिनमा पहिरोले क्षति पु¥याएको उनले जानकारी दिए । 

शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ । सो क्षेत्रको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रभावित परिवारलाई अर्काे स्थानमा स्थानान्तरणको आवश्यकता रहेको बताइन् । बस्ती स्थानान्तरणका लागि टेन्ट तथा त्रिपाल लगायतका सामग्री लगायतका जोहो गर्नुपर्ने भएकाले यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताइन् । 

पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेकाले खानेपानीको समस्या समाधानका लागि निर्देशन दिइसकेको उनले बताइन् । 

पहिरोले बाटोसमेत बगाएकाले विद्यार्थीलाई आधा घण्टाको दुरीमा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्ने गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update