बैतडी–बैतडीको पाटन नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत करारका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, महंगी भत्ता उपलब्ध गराउनुपर्ने र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने माग राखेर करारका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।
गएको असारमा आफ्ना मागसहितको ज्ञापन पत्र नगरपालिकालाई बुझाएपनि मागका बारेमा सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको करार स्वास्थ्यकर्मी संघर्ष समितिका संयोजक प्रकाश भट्टले बताए ।
चालु आर्थिक बर्षको बजेटमा करार स्वास्थ्यकर्मीहरुका मागलाई सम्बोधन गर्ने आश्वासन दिएपनि माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।
मंगलबार नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई करार स्वास्थ्यकर्मीहरुका मागका बिषयमा फेरि जानकारी गराएको र माग पूरा नभए थप आन्दोलन कार्यक्रम अघि बढाइने भट्टले बताए ।
पाटन नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा २५ भन्दा बढी करारका स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।




