बैतडी–भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरुको सहयोगका लागि बैतडीका स्थानीय तहहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जमा गर्ने निर्णय गरेका छन् ।
अहिलेसम्म जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जमा गर्ने निर्णय गरेका हुन् ।
दशरथचन्द नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ जमा गर्ने निर्णय गरेको छ । बिहीबारको नगर प्रमुखस्तरीय निर्णय अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जमा गरिने नगरपालिकाले जनाएको छ ।
यस्तै पाटन नगरपालिकाले बाढीबाट प्रभावित भएका नागरिकहरुको उद्धार, उपचार,खोज र पुनस्र्थापनाका लागि २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ । नगर प्रमुखस्तरीय निर्णय गर्दै नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जमा गर्ने जनाएको छ ।
यस्तै जिल्लाको शिवनाथ गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ जमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यसैगरी सिगास गाउँपालिकाले बाढी प्रभावित नागरिकहरुको सहयोगका लागि १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख र प्रधानमन्त्री राहत कोषमा ५० हजार रकम जमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।
यस्तै दोगडाकेदार गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख जमा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । यस्तै जनप्रतिनिधिहरुको दुई दिन बराबरको पारश्रमिक पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय भएको उनले बताए ।




