बैतडी–बैतडीमा चाडपर्वलाई मध्यनजर गरेर चार सय जना प्रहरी परिचालन गरिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार जिल्लाभरी चार सय जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए ।
चाडपर्वको समयमा हुन सक्ने विभिन्न आपराधिक घटनाहरु नियन्त्रणका लागि जिल्लाभरी प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक तिमिल्सैनाले जानकारी दिए ।
दशैँको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्रालाई मध्यनजर गरेर ती क्षेत्रहरुमा समेत सुरक्षाकर्मी खटाइएको छ । जात्रा तथा मेलाहरुलाई शान्तपूर्ण सम्पन्न गराउन प्रहरी सक्रिय रहेको उनले बताए ।
यस्तै बैंक तथा बित्तीय संस्थाहरुको सुरक्षाका लागि पनि प्रहरी परिचालन गरिएका छन् । दशैँ तथा तिहारको समयमा हुन सक्ने जुवातास नियन्त्रणका लागि प्रहरीले सुक्ष्म निगरानी गरिरहेको बताइएको छ ।
चाडपर्वलाई लक्षित गरेर जिल्लाभरी यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक तिमिल्सैनाले जानकारी दिए । चाडपर्वको समयमा यात्रुको भीडभाड हुने भएकाले ट्राफिक नियम उल्लंघनका घटना रोक्न प्रहरी सक्रिय रहेको छ ।
चाडपर्वको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकेको भन्दा बढी भाडा लिने लगायतका प्रवृतिलाई रोक्न यात्रु सहायता कक्षमार्फत काम भइरहेको प्रहरी निरीक्षक तिमिल्सैनाले जानकारी दिए ।




