बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिकामा प्रहरीले करिब पौने चार लाख रुपैयाँ बराबरको अवैध भन्सार छलिका सामान फेला पारी बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी हल्दुविनायक र इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो ३ः०० बजेको समयमा उक्त सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पञ्चेश्वर गाउँपालिका–४, विनायकस्थित विनायकघाटबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका सामान सोही वडाको तिमलेखालीस्थित विनायक जङ्गलमा बेवारिसे अवस्थामा फेला परेका थिए ।
बरामद गरिएका सामानहरूमा चिनी, तोरी तथा तिलको तेल, पेठा मिठाई, धोजा÷नेजा, मन्दिरको घण्टी, रेडिमेड अचार, नरिवल, पापड, पेन्ट, चप्पल, सुर्ती (पान छाप), जिरा, स्टिलका भाडाकुडा (भड्डु तथा बाल्टिन), स्याम्पु, तालाचाबी, पास्ता, ढोकाको ह्यान्डल लगायतका २४ थरी खाद्यान्न तथा घरायसी सामाग्रीहरू रहेका छन् ।
उक्त बरामद गरिएका सम्पूर्ण सामानहरूको अनुमानित मूल्य रु. ३ लाख १७ हजार ७ सय दस रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामाग्रीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बैतडीतर्फ ल्याइँदै गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




