Sagun Khabar
माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो । उनीहरूविरुद्ध करिब साढे ७३ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

अख्तियारले दायर गरेको यो मुद्दाको सूचीमा पूर्व भूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव स्व. माधव घिमिरेकी छोरी कमला घिमिरेको नामसमेत समावेश छ ।

त्यसैगरी, प्रतिवादीहरूमा पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौला रहेका छन् ।

साथै, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नासु बुद्धिबहादुर कार्कीविरुद्धसमेत अख्तियारले भ्रष्टाचार मुद्दा पेस गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update