काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध १५ करोड रुपैयाँभन्दा बढीको अवैध सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय भक्तपुरका नासु यदुनाथ आचार्यविरुद्ध करिब १० करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन र ९ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
वैध आयभन्दा अत्यधिक खर्च र लगानी गरेर राज्यको ढुकुटी र पदको दुरुपयोग गरेको खुल्न आएपछि अख्तियारले उनकी श्रीमती, दुई छोरीसहित ६ जनाविरुद्ध कडा कानुनी डन्डा चलाएको हो । आयोगले सोमबार नासु आचार्य, उनकी श्रीमती ललिता राजभण्डारी, दुई छोरी तथा अन्य दुई मतियारसहित ६ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन तथा सम्पत्ति शुद्धीकरण ऐनअनुसार आरोपपत्र दायर गरेको हो ।
कसरी जोडिए परिवारका सदस्य?
श्रीमती ललिता राजभण्डारीः कालोधन लुकाउन र शुद्धीकरण गर्न मुख्य मतियार बनेको ठहर गर्दै उनलाई मुख्य कसुरदार सरह नै बिगो कायम गरी सजाय र सम्पत्ति जफतको माग गरिएको छ । अख्तियारको अनुसन्धान चार्टअनुसार आचार्यले कालोधन लुकाउन काठमाडौं, भक्तपुर र मोरङका विभिन्न स्थानमा घरजग्गा कारोबार, सेयर लगानी, ऋण सापटी र व्यापारिक प्रतिष्ठानलाई माध्यम बनाएका थिए ।
अवैध सम्पत्तिबाट जोडिएका घरजग्गा तथा सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि दुई छोरी निलु र सरु आचार्यलाई पनि प्रतिवादी बनाइएको छ । अवैध सम्पत्तिबाट खरिद गरिएका सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि आचार्यका दुई छोरीहरू निलु आचार्य र सरु आचार्यलाई पनि प्रतिवादी बनाइएको हो ।
हलेसी डिपार्टमेन्ट स्टोरलगायत विभिन्न व्यापारिक लगानीमा जोडिएका अन्य दुई जनालाई समेत अख्तियारले प्रतिवादी बनाएको छ । हलेसी डिपार्टमेन्ट स्टोरमा लगानी गरी मतियार बनेको ठहर गर्दै मध्यपुर थिमी नगरपालिका २ की प्रभा द्यसनेत र काठमाडौं ३२ की कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा सजाय मागदाबी लिइएको छ ।
सामान्य सरकारी सेवामा रहेका कर्मचारीले १५ करोडभन्दा बढीको साम्राज्य कसरी खडा गरे भन्ने विषय अहिले सर्वत्र चासो र चर्चाको विषय बनेको छ ।





