बझाङ –बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करीब सवा ९ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जिपमा करिब १२ देखि १५ जनासम्म सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुई जनाको घटनास्थलमै मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली उद्धार तथा आवश्यक व्यवस्थापनका लागि घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अस्थायी प्रहरी पोस्ट बिजगडाबाट प्रहरी सहायक निरीक्षक मीन चन्दको कमाण्डमा दुई जना, अस्थायी प्रहरी पोस्ट बागथलाबाट प्रहरी सहायक निरीक्षक केशवसिंह भण्डारीको कमाण्डमा दुई जना र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक तिमिल्सैनाकै कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।
दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय बझाङबाट करिब ३५ किलोमिटर पश्चिममा पर्दछ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।




