दार्चुला –दार्चुलामा पिकनिक खान गएका विद्यार्थी सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार दिउँसो महाकाली नगरपालिका–४ दत्तुस्थित सकार खेलमैदानमा जिप पल्टिँदा पाँच जना विद्यार्थी घाइते भएका हुन् ।
प्रहरीका अनुसार खलंगाबाट पिकनिक खान दत्तु पुगेको सुपप्र ०४–००१ ज ०१२२ नम्बरको जिप खेलमैदानमा घुमाउने क्रममा अचानक पल्टिएको थियो ।
दुर्घटनामा महाकाली नगरपालिका–४ विद्या नगरटोलका १७ वर्षीया अनु लुहार, १७ बर्षीया अस्मिता ओड, १५ वर्षीया अनुषा चुनारा, संगीता चुनारा र भुमा चुनारा घाइते भएका छन् ।
घाइते मध्ये अनु, अस्मिता र अनुषलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता,प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले बताए ।
संगीता र भूमा भने जिल्ला अस्पताल दार्चुलामा उपचारपछि डिस्चार्ज भइसकेका प्रहरी निरीक्षक बुढाथोकीले बताए ।




