त्रिपुरासुन्दरीको जात्रा मंसिर १ र २ गते, चिउरीको दुनामा पूजा सामग्री ल्याउन आग्रह

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका –८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा यही मंसिर १ र २ गते जात्रा लाग्ने भएको छ । हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन मन्दिरमा भव्य जात्रा लाग्ने गरेको त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले बताए । 

रणशैनी भगवतीको रुपमा परिचित त्रिपुरासुन्दरीको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । अन्य समयको तुलनामा कार्तिकको जात्रामा भक्तजनको भीड लाग्ने गरेको थापाले बताए । 

त्रिपुरासुन्दरीको जात्रामा सहभागी हुने दर्शनार्थीहरुलाई चिउरीको दुनामा पूजा सामग्री ल्याउन आग्रह गरिएको छ । अन्य भाँडाकुडामा पूजा सामग्री ल्याउँदा व्यवस्थापन गर्न समस्या हुने भएकाले चिउरीको दुनामा पूजा सामग्री ल्याउन आग्रह गरिएको थापाले बताए । 

चिउरीको दुनामा पूजा सामग्री ल्याएमा सोही दुनामा मन्दिर प्रसाद दिन समेत सहज हुने बताइएको छ । अन्य भाँडाकुँडामा पूजा सामग्री ल्याउँदा व्यवस्थापनमा निकै झण्झट हुने भएकाले भक्तजनहरुलाई यस्तो आग्रह गरिएको थापाले बताए । 

त्रिपुरासुन्दरीको जात्रामा पशु बली दिने चलन समेत रही आएको छ । यो जात्रामा राँगा र बोकाको बली दिने चलन रहेको थापाले बताए । 

अष्टमीको दिनलाई स्थानीय भाषामा नानी जात र नवमीको दिनलाई ठूली जात भन्ने चलन रही आएको छ । 

नवमीको दिन मन्दिरबाट कापडी गाउँमा भगवतीको सवारी गराउने परम्परा रही आएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update