रौलाकेदार धामको जात्रा शुरु

बैतडी–बैतडीको प्रसिद्ध रौलाकेदार धामको जात्रा शुरु भएको छ । सुर्नया गाउँपालिका–५ स्थित मडगाउँमा रहेको भण्डार घरबाट आज कार्तिक शुक्ल सप्तमीका दिन रौलाकेदारको देउरो धाममा लगिएको मन्दिरका मूल पूजारी विष्णुदत्त भट्टले बताए । 

आज साँझ रौलाकेदार धाममा देउरो पुगेपछि राति श्रद्धालुहरु धाममै बस्ने प्रचलन रही आएको छ । भोलि कार्तिक शुक्ल अष्टमीको बिहान रौलाकेदार धाममा बिशेष पूजा हुने पूजारी भट्टले बताए । 

बाजागाजासहित रौलाकेदारको देउरो धामका लागि लगिएको छ । सैयौं भक्तजनहरुको सहभागितामा धाममा देउरो लगिएको हो ।

समुद्री सतहबाट करीब २९ सय मिटर बढी उचाइमा रहेको रौलाकेदार धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

रौलाकेदार महत्व बद्रीकेदार जत्तिकै रहेको जानकारहरुको भनाइ छ । रौलाकेदारको उत्पत्ति बद्रीकेदारबाटै भएको पूजारी भट्टले बताए । 

भगवान शिवका १२ ज्योतिर्लिङ्गमध्ये केदारनाथ ज्योतिर्लिङ्ग रौलाकेदार नै भएको नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताए । पौराणिक रावलाद्री पर्वतमा अवस्थित रौलाकेदार धाम नै केदारनाथ ज्योतिर्लिङ्ग भएको उनको दाबी छ । 

रौलाकेदार धाममा कार्तिक शुक्ल अष्टमीको दिन पूजाआजा गरेपछि साँझ भण्डार घरमा देउरो ल्याउने चलन रही आएको छ । रौलाकेदारको पूजाआजापछि नजिकै रहेको मानाकोटमा भगवतीको पनि पूजाआजा गर्ने चलन रही आएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update