बैतडी – तीन दशकदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने विषयमा नेपाल र भारतबीच फेरि सहमति भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर शीघ्र टुङ्ग्याएर कार्यान्वयन प्रक्रिया अघि बढाउने सहमति गरेका हुन् ।
दिल्लीबाट जारी नेपाल–भारत संयुक्त प्रेस वक्तव्यमा दुवै देशका प्रधानमन्त्रीले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई डीपीआर शीघ्र अन्तिम रूप दिन निर्देशन दिएको उल्लेख छ । डीपीआरलाई अन्तिम रूप दिएलगत्तै आयोजना कार्यान्वयनको काम सुरु गर्ने विषयमा समेत दुवै पक्ष सहमत भएका छन् ।
नेपाल र भारतबीच २०५२ सालमा महाकाली सन्धि भएपछि पञ्चेश्वर आयोजनालाई संयुक्त परियोजनाका रूपमा अघि बढाउने सहमति भएको थियो । महाकाली नदीको पञ्चेश्वरमा बाँध निर्माण गरी ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, रुपालीगाडमा अर्को बाँध निर्माण गरेर थप २४० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।
तर, आयोजना निर्माणका लागि सहमति भएको तीन दशक बितिसक्दा पनि कार्यान्वयनको चरणमा पुग्न सकेको छैन । आयोजनाको डीपीआरमै नेपाल र भारतबीच सहमति जुट्न नसक्दा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो ।
नेपालका अधिकांश प्रधानमन्त्रीको भारत भ्रमणको समयमा पञ्चेश्वरको बिषय प्राथमिकताका साथ उठ्ने गरेको भएपनि कार्यान्वयनमा भने आउन सकेको छैन् ।




