Sagun Khabar
डडेल्धुरामा निषेधाज्ञा जारी 

डडेल्धुरा –डडेल्धुरामा आइतबारदेखि निषेधाज्ञा जारी गरिएको छ । विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दर जिल्लामा पनि उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । आइतबार बिहान ६ बजे देखि  वैशाख २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द छन् । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुने जनाइएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

खाद्य सामग्रीका पसल बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइने छ । निषेधाज्ञा लागेपछि अतिआवश्यक कामकाज बाहेक हिँडडुल गर्न पाइने छैन । यस्तै निषेधाज्ञाको अवधिभर औषधि पसल, खाद्य पसल तथा समाग्री बाहेक अन्य पसल सबै बन्द रहने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए  ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन् । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्वस्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन् ।

यस्तै, नेपाल सरकारका कर्मचारी, बैंक वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।

पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने जनाएको छ । निषेधाज्ञा जारी गरेसँगै सरकारी कार्यालय समेत आकस्मिकबाहेका सबै सेवा बन्द गर्ने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आर्यलले बताए  । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update