Sagun Khabar
दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १० जना घाइते 
फाइल फोटो

डडेल्धुरा –दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ । जिल्लाको आलिताल गाउँपालिका –१ स्थित घण्टेश्वर मन्दिर नजिक ना ८ ख ६१३२ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

बसमा ३२ जना सवार रहेका र ती मध्ये १० जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि धनगढी लगिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका –६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका –८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार –६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका –१० का ३० वर्षीय चन्द्र बहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेको  प्रहरीले जनाएको छ । दुर्घटना कसरी भयो भन्ने बिषयमा थप अनुसन्धान भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update