Sagun Khabar
प्रधानमन्त्रीको गृह जिल्लामा गठबन्धन नहुने 

डडेल्धुरा –प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा गठबन्धन दलहरुबीच चुनावी तालमेल नहुने भएको छ । दुई नगरपालिका र ५ वटा गाउँपालिका रहेको डडेलधुरामा गठबन्धन गर्दा सत्ता साझेदार दलहरुभित्र असन्तुष्टि बढ्ने र त्यसको फाइदा एमालेलाई हुने निष्कर्षसहित दलहरुले गठबन्धन नगर्ने निर्णय गरेका हुन् ।

जिल्लाको परशुराम नगरपालिकामा कांग्रेस र माओवादी दुवै पार्टीले आ आफ्नो अडान लिएपछि गठबन्धन हुन नसकेको नेताहरुले बताएका छन् । कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँद नगर प्रमुख रहेको परशुराम नगरपालिकामा माओवादी र कांग्रेसले नछाडन् बताएपछि गठबन्धन नगर्ने निर्णय भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

बेग्लाबेग्लै निर्वाचन लडेपनि गठबन्धन दलहरुले जित्ने आधार भएकाले दलहरुले गठबन्धन नगर्ने निर्णय गरेको सभापति साउँदले बताए । 

डडेलधुरामा कांग्रेसभित्र गत अधिवेशनदेखि असन्तुष्ट रहेको एउटा समूहले पनि सातवटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेको छ । क्रियाशील सदस्यता विवादका कारण तत्कालीन सभापति कर्ण मल्लको समूहले अधिवेशन बहिष्कार गरेको थियो । सो समूहले सबै स्थानीय तहमा आफ्ना उम्मेदवार खडा गर्ने तयारी गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update