Sagun Khabar
शिवनाथको बकुन्नामा घरघरमा धारा,स्थानीयबासी खुसी 
फोटो : शिवनाथको बकुन्नामा निर्माण भएको खानेपानी योजनाको ट्यांकी 

बैतडीको शिवनाथ गाउँपालिका वडा नं ५ को बकुन्नाको टोलमा घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीयबासी खुसी भएका छन् । बर्षौंदेखि खानेपानीको समस्या झेलीरहेका स्थानीय घरघरमा पानीको धारा पुगेपछि खुसी भएका हुन् । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र शिवनाथ गाउँपालिकाको संयुक्त लगानिमा टुँडीगैर –बकुन्ना खानेपानी तथा सरसफाई निर्माण योजना सम्पन्न भएको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले जानकारी दिए । 

सो योजना निर्माणका लागि परियोजनाका तर्फबाट अनिरुद्र ग्रामीण सुधार केन्द्रले काम गरेको हो । १ करोड ४ लाखको लागतमा निर्माण भएको योजनाका लागि गाउँपालिकाको १३ लाख, स्थानीय जनश्रमदान २८ लाख र बाँकी ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको लगानि रहेको कार्यक्रम निर्देशक अवस्थीले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँका ९२ ओटा घरमा ९२ धारा निर्माण भएपछि स्थानीयबासीहरुलाई सजिलो भएको टुँडीगैर –बकुन्ना खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितिका अध्यक्ष जयमलसिंह सुतारले बताए । गाउँमा खानेपानी पुगेपछि स्थानीयबासी निकै हर्षित भएका उनले बताए । उनले भने ‘बर्षौंदेखिको हाम्रो खानेपानी समस्याको समाधान भएको छ । खानेपानीका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

यसैबीच टुँडीगैर–बकुन्ना खानेपानी तथा सरसफाई योजनाको बुधबार एक कार्यक्रमकाबीच उद्दघाटन समेत गरिएको छ । योजनाको अन्तिम अनुगमन सहित उद्दघाटन गरिएको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक अवस्थीले बताए । ३ किलोमिटर टाढाको मूहानबाट गाउँमा खानेपानी पुर्याएको उनले बताए ।  

योजना उद्दघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, उपाध्यक्ष कुस्मा चन्द, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका जलश्रोत सल्लाहकार लवराज पन्त लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update