Sagun Khabar
बैतडीमा कृषक दिवस सम्पन्न 
फोटो : कृषक दिवसका सहभागी 

बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ थलाल गाउँमा कृषि दिवस सम्पन्न भएको छ । सिप्रेडको आर्थिक सहयोगमा सञ्चालित एनसाप परियोजना अन्तर्गत कृषक दिवस सम्पन्न गरिएको हो । दिवसमा किसानहरुका समस्या र ती समस्याको प्राविधिक समाधानका बारेमा छलफल भएको एनसाप परियोजनाका कार्यक्रम संयोजक भुवन भट्टले बताए । 

भवानी ताजा तरकारी तथा बीउ उत्पादन समूहका किसानहरुको सहभागितामा दिवस शुक्रबार सम्पन्न भएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले थलाल गाउँलाई प्याजको पकेट क्षेत्र बनाउनका लागि पहल गरिने बताए । वडाका तर्फबाट प्याज खेतीमा लागेका किसानहरुलाई विभिन्न खालका सहयोग भईरहेको र अबका दिनमा ती सहयोगमा वृद्धि गर्ने उनले बताए । उनले भने ‘हामीले थलाल गाउँलाई प्याजको पकेट क्षेत्र बनाउने योजना बनाएका छौं । केही बजेटको अभावले यो हुन सकेको छैन् । अबका दिनमा हामीले प्रयास गर्नेछौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

एनसाप परियोजनाका कार्यक्रम संयोजक भुवन भट्टले परियोजनाले गएको दुई बर्षदेखि थलाल गाउँमा प्याजको बीउ तथा बेर्ना उत्पादनमा लागेका किसानहरुलाई विभिन्न सहयोग गरिरहेको बताए । थलाल गाउँका किसानहरुले उत्पादन गरेको प्याजको बेर्नालाई प्रमाणिकरण समेत गरिसकिएको भट्टले बताए  । बैतडी लोकल प्याज नाम दिएर प्याजको बीउलाई प्रमाणिकरण गरिएको उनले बताए । उनले भने ‘पहिलो पटक जिल्लामा प्याजको बीउ प्रमाणीकरण भएको छ । स्थानीयस्तरमै उत्पादित बीउ प्रमाणीकरण भएको हो । यसले अब किसानहरुलाई बजारीकरणका लागि समेत सहज हुनेछ ।’

एनसाप परियोजना अन्तर्गत आफूहरुलाई प्याजको बेर्ना र बीउ उत्पादनका लागि सहयोग भएको समूहका अध्यक्ष कुसुम थलालले बताइन् । 

कृषक दिवसका  अवसरमा किसानहरुले विभिन्न समस्या समेत राखेका छन् । सिंचाईको अभावमा प्याजको बीउ उत्पादनमा केही समस्या भईरहेको किसान मोहन थलालले बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update