Sagun Khabar
भारतले तटबन्ध निर्माण गरिरहेको ठाउँमा संयुक्त टोलीले स्थलगत अध्ययन गर्दै 

नेपाल भारत सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खालको नेपाल र भारतको टोलीले स्थलगत अध्ययन थालेको छ । 

भारतले एकतर्फी बाँध बनाईरहेको बिषयमा संसदमा समेत कुरा उठेपछि दुवै देशका टोलीले संयुक्त रुपमा अध्ययन थालेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाली टोलीको नेतृत्व नापी विभागका उपसचिव दयानन्द जोशीले गरेका छन् । भारतको सर्वेक्षण विभागको टोली समेत तटबन्ध निर्माण भईरहेको स्थानमा पुगेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । दुवै देशका टोलीले अध्ययनपछि प्रतिवेदन तयार पारिने उनले बताए । 

भारतले अहिले तटबन्ध निर्माण गरिरहेको ठाउँको नेपालको भएको र महाकालीले धार परिवर्तन गर्दा भारत तर्फ गएको नेपाली पक्षको भनाई छ । दुवै देशका टोलीले अध्ययन गर्ने कुरा भएपछि अहिले तटबन्ध निर्माणको काम भने रोकिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए  । उनले भने ‘हाम्रो टोलीले आवश्यक परे टनकपुरबाटै नाप नक्सा लिने तयारी गरेको छ । दुवै देशका टोलीले अध्ययन पछि यसको निष्कर्ष निकाल्नेछन् ।’

२०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको करिब एकहजार रोपनीभन्दा बढी जग्गा महाकाली नदीपारि परेको महाकाली नदी नियन्त्रण आयोजना निर्देशक शोभाकर पौडेलले बताए ।  

महाकालीमा बाढी आउँदा नदीले धार परिवर्तन गरेर दार्चुलाको गल्फै क्षेत्रको करिब एकहजार रोपनी जग्गा महाकाली नदीपारि परेको छ । खेल मैदान, वन कार्यालयको भवनलगायत सबै नदी पारि गएका थिए । भारतले त्यही स्थानमा करिब ३० मिटर नेपाली भूमि मिचेर बाँध निर्माण गर्न थालेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update