Sagun Khabar
बैतडीमा कोरोना विरुद्धको खोपको दोश्रो मात्रा लगाइने 

बैतडी, ६ वैशाख –
बैतडीमा पनि कोरोना विरुद्धको खोप अभियान अन्तर्गत खोपको दोश्रो मात्रा लगाइने भएको छ । गएको माघ १४ देखि २४ गते सम्म र फागुन २ देखि ११ गते सम्म खोप लगाएका व्यक्तिहरुलाई खोपको दोश्रो मात्रा लगाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

वैशाख ७ गतेदेखि ११ गते सम्म कोरोना विरुद्धको खोपको दोश्रो मात्रा लगाइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, कर्मचारी,जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतलाई खोपको दोश्रो मात्रा दिइने उनले बताए । 

बैतडीका प्रत्येक स्थानीय तहमा एक एक ओटा खोप केन्द्र रहने र ती खोपकेन्द्रबाटै कोरोना विरुद्धको खोपको दोश्रो मात्रा लगाइने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए । बैतडीमा पहिलो चरणमा ३ हजार ३ सय जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । पहिलो मात्रा लगाएकाहरुलाई खोपको दोश्रो मात्रा दिइने उनले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

खोपको पहिलो मात्रा लगाएकाहरुलाई नजिकको खोपकेन्द्रमा आएर दोश्रो मात्रा लगाउन स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेको छ । कोरोना विरुद्धको खोप सुरक्षित भएकाले ढुक्क भएर खोपको दोश्रो मात्रा लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह समेत गरेका छन् ।

 कोरोना विरुद्धको खोप अभियान अन्तर्गत दशरथचन्द नगरपालिकाको हकमा वैशाख ७ देखि ११ गते सम्म जिल्ला अस्पतालको खोप केन्द्रबाट खोप लगाइने छ । 

यस्तै पाटन नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पाटन र मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट वैशाख ७ गतेदेखि ९ गते सम्म खोप लगाइने बताइएको छ । 

यस्तै शिवनाथको सुल्लेखान र पञ्चेश्वरको आम्चोरा स्वास्थ्यचौकीबाट वैशाख ७ र ८ गते खोप लगाइने खोप सुपरभाईजर निरीक्षक भट्टले जानकारी दिए । 

यस्तै डिलाशैनी गाउँपालिकाको रुद्रेश्वर स्वास्थ्यचौकी, दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकी, सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी र सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी खोपकेन्द्र वैशाख ९ र १० गते कोरोना विरुद्धको खोप लगाइनेछ । 

यस्तै पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीबाट वैशाख ९ देखि ११ गते सम्म खोप लगाइने खोप सुपरभाईजर निरीक्षक भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update