Sagun Khabar
जिल्ला अस्पताल बैतडीमै हुन्छ सर्पदंशको उपचार 

बैतडी–बैतडीमा सर्पको टोकाइबाट ज्यान गुमाउनेको संख्या बढीरहेका बेला जिल्ला अस्पताल बैतडीमा यो बर्षदेखि सर्पदंशको उपचार सेवा शुरु भएको छ । सर्पदंशको उपचारका लागि आवश्यक उपकरण, औषधि र जनशक्ति जिल्ला अस्पतालमा उपलब्ध रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताए । 

जिल्ला अस्पातल बैतडीमा यो बर्षदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको उनले बताए । कसैलाई सर्पले टोकीहालेमा जतिसक्दो चाँडो अस्पातल पुर्याउने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । समयमै अस्पताल पुर्याएमा सर्पदंशका बिरामीहरुको ज्यान जोगिने डा. श्रेष्ठले बताए । 

Atrya hospital

सर्पले टोकीहालेमा जथाभावी घाउ चलाउने, घाउ बाँध्ने, घाउलाई ब्लेडले चिर्ने लगायतका कामहरु गर्न नहुनेमा डा. श्रेष्ठले जोड दिए । गाउँघरमा सर्पले टोकेमा वैद्यबाट झारफुक गराउने प्रचलन रहेकाले ज्यान गुमाउनेको संख्या बढ्दै गएको उनले बताए । 

बिषालु सर्पले टोकेमा समयमै उपचारमा नपाएमा मान्छेको ज्यान जाने हुन्छ । त्यसैले जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्नेमा डा. श्रेष्ठले जोड दिए । बैतडीको हकमा जिल्ला अस्पतालमा मात्रै यसको उपचार सम्भव रहेको उनले बताए । सर्पदंशको उपचारका लागि भेन्टिलेटर र एन्टीस्नेक भेनमका साथै दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले सबै ठाउँमा यो सम्भव नभएको डा. श्रेष्ठले बताए । 

यस्तै डडेल्धुरा अस्पतालमा पनि सर्पदंशको उपचार हुने भएकाले सर्पदंशका बिरामीहरुले त्यहाँ गएर पनि उपचार गर्न सक्ने बताइएको छ । 

तर दुर्गम क्षेत्रका नागरिकलाई अस्पताल पुग्नै सकस रहेको छ । जिल्लाको पञ्चेश्वरबाट जिल्ला अस्पातल पुग्न बाटोघाटोकै समस्या रहेको पञ्चेश्वरका स्थानीय नारायणराम सार्कीले बताए ।

यसका साथै सर्पदंशको उपचार हुन्छ भन्ने कुराको जानकारी समेत नभएको उनले बताए । उनले भने ‘अहिले पनि सर्पले टोकीहालेमा उपचार हुन्छ भन्ने कुराको जानकारी छैन् । वैद्यकै भरपर्ने परिपाटी छ । समयमै अस्पताल पुर्याउन बाटोघाटोको पनि समस्या छ ।’

बैतडीमा यो बर्षमात्रै सर्पको टोकाइबाट तीन जनाको मृत्यु भइसकेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका २ र सिगास गाउँपालिकामा एक जनाको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीको तथ्यांक छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update