Sagun Khabar
बालविवाह अन्त्यका लागि पैरवी कार्यक्रम 

बैतडी–बैतडीको पाटनमा बालविवाह अन्त्यका लागि स्थानीय सरकारसंग पैरवी कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरिरहेको रुपान्तरण कार्यक्रम अन्तर्गत सो अन्तरक्रिया सम्पन्न गरिएको हो । 

बालविवाह अन्त्यका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने कुरालाई मध्यनजर गरेर जनप्रतिनिधिहरुसंग पैरवी कार्यक्रम राखिएको रेडक्रसका कार्यक्रम संयोजक कमलापती भट्टले जानकारी दिए । बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउन दबाब पुगोस भनेर पैरवी कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बालविवाह अन्त्यका लागि नगरपालिकाले रणनैतिक योजना बनाउने दाबी गरे । नगरपालिकाले अहिले पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको अबका दिनमा योजना सहित अघि बढ्ने उनले बताए । 

यस्तै जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बालविवाह विकासको बाधकको रुपमा अघि आएकाले यसको अन्त्यका लागि सबैले लाग्नुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले रेडक्रसले जिल्लाका विभिन्न ५ स्थानीय तहमा बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको र यसमा स्थानीय सरकारको बिशेष भूमिका रहेको बताए । 

बालविवाह अन्त्यका लागि गरिएको पैरवी कार्यक्रमका सहभागीहरुले बालविवाह अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । 

बालविवाह सम्बन्धि विभिन्न तथ्यांकहरु प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बालविवाहले मानिसको समग्र जीवनमा प्रभाव पार्ने बताए  ।

 पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा भएको पैरवी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट प्रमुख अतिथी रहेका थिए  । बैतडीका पञ्चेश्वर, शिवनाथ, सिगास, पाटन र दशरथचन्द नगरपालिकामा रेडक्रसले बालविवाह अन्त्यका लागि पैरवी कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update