Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ को कार्यालयमा तालाबन्दी 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ को कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँमा हुने मदिराको विक्रि वितरण रोकिनुपर्ने भन्दै बाँस टोलका महिलाहरुले वडा कार्यालयमै पुगेर सोमबार तालाबन्दी गरेका हुन् । 

गाउँमै मदिराको विक्रिवितरण भईरहेको र यसले महिला र बालबालिका समस्यामा परेकाले आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय झीमा बिष्टले जानकारी दिइन् ।  आफूहरुले गिट्टी कुटेर आम्दानी गरेको पैसा समेत बचत गर्न सकिने अवस्था नरहेकाले गाउँमा भएको मदिरा पसल हट्नुपर्ने आफूहरुको माग रहेको उनले बताइन् । उनले भनिन ‘गाउँको बीचमा मदिरा पसल छ । त्यही बाटो भएर बालबालिकाहरु विद्यालय जाने गर्दछन् । महिलाहरु मेलापात सोही बाटो जाने गरेका छन् । मदिराका कारण हामीहरुलाई धेरै समस्या भएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

गाउँमा रहेको मदिरा पसल बन्द गर्न आफूहरुले पटक पटक माग गरेको र मागको सुनुवाई नभएपछि वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय पशुपति बिष्टले बताइन् । मदिराका कारण घरखेत बेच्नुपर्ने अवस्था आइलागेको उनले बताइन् । उनले भनिन् ‘गाउँमा हुने मदिराको कारोबारले घरबासमै समस्या निम्त्याएको छ । हामीमाथि ठूलो समस्या आइलागेकाले वडा कार्यालयमा पुगेका हौं । हामी र हाम्रा बालबालिका मदिराकै कारण असुरक्षित छन् ।’

मदिराकै कारण कतिपयको घरबार समेत बिग्रिसकेकाले आफूहरुले गाउँको बीचमा रहेको मदिरा पसल बन्द गर्न आग्रह गरेको उनले बताइन् । मदिराकै कारण महिलामाथि कुटपीट समेत हुने गरेको स्थानीय कविता बिष्टले बताइन् । आफूहरुको माग पूरा नहुँदा सम्म वडा कार्यालयको तालाबन्दी नखोलिने उनले भनिन् । 

यो बिषयमा वडा अध्यक्ष दिलाराम भट्टले मदिरा व्यवसायीलाई आफूले गाउँमा मदिराको कारोबार नगर्न आग्रह गरेको तर बन्द गर्न आदेश दिन नसकिने बताए । 

मदिराको कारोबारका लागि आन्तरिक राजस्वबाट अनुमति लिएर कारोबार गरिरहेकाले बन्द गर्ने अधिकार आफूहरुलाई नभएको वडा अध्यक्ष भट्टले बताए । 

वडा कार्यालयमा तालाबन्दी गरेर समस्याको समाधान नहुने भएकाले वडाको ताला खोल्न पनि उनले आग्रह गरे । अझै पनि छलफल गरेर मदिराका कारण भईरहेको समस्या समाधानका लागि पहल गर्ने उनले बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update