Sagun Khabar
दोधारा चाँदनी सुख्खा बन्दरगाहको डीपीआर तयार

कञ्चनपुर –कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डीपीआर तयार गरेर पठाएको जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि रु पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ । सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्ने उनले बताए । 

सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने डीपीआरमा उल्लेख गरिएको छ । बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुने इन्जिनीयर केसीले बताए । 

सुख्खा बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवनलगायत अन्य पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । भारतले एसियन राजमार्गसँग जोड्न पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको छ ।

सुख्खा बन्दरगाह निर्माण हुने स्थलमा रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ ।

विसं २०६४ मा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन ।

सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update