Sagun Khabar
सुनको गहनाका  लागि कञ्चनपुरमा एक महिलाको हत्या भएको खुलासा 

कञ्चनपुर –सुनको गहनाका लागि कञ्चनपुरमा एक महिलाको हत्या गरेको खुलेको छ । गत कार्तिक १९ गते जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको थियो । शुक्लाफाँटा–७ कै महेश डगौराले नारुदेवीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी नारुदेवीको हत्या भएको थियो । नारुदेवीको हत्या गरेकै दिन डगौराले २५० रुपैयाँका लागि एक भारतीय नागरिकलाई समेत लुटपाट गरेका थिए । त्यसअघि १४ कार्तिकमा उनले झलारीका महेश भट्टको साइकल चोरेका प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा साइकल चोरी र भारतीय नागरिकलाई लुटपाटमा संलग्न महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए । उनी लागुऔषध दुव्र्यसनीसमेत रहेको प्रहरीले जनाएको छ । डगौराले घाँस काट्न सघाइदिने भन्दै एक्लै जंगल गएकी नारुदेवीको पिछा गरेका थिए । 

नारुदेवीले लगाएका गहना सक्कली वा नक्कली हो भन्ने सोधपुछपछि एकिन गरेर घाँटी च्यापेर हत्या गरेको उनले स्विकार गरेको एसपी थापाले बताए । बृद्धाको हत्यापछि लुटपाट गरेको सुन बिक्रिका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र सुन किन्ने ईन्द्रबहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सुनचाँदी पसलधनीहरुले लक्ष्मण चौधरी र निरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले इमर्जेन्सीमा सुन बेच्न आग्रह गरेपछि किनिदिएको बताएका छन् । 

कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँचजना विरुद्ध फरकफरक मुद्दा आकर्षित हुने बताए । 

महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार र सुन पसलधनीहरु विरुद्धमा गैरकानुनी सुन खरिद बिक्रिको मुद्दा लगाउने तयारी गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update