Sagun Khabar
कञ्चनपुरमा जलपक्षी गणना शुरु

कञ्चनपुर –कञ्चनपुरमा आजदेखि जलपक्षी गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पक्षी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएशनलगायत सङ्घसंस्थाले जलपक्षी गणना थालेका हुन् ।

जलपक्षी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपक्षी गणना हुनेछ ।

स्वास्थ्य सन्देश
Atrya hospital

निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपक्षी गणना हुने चराविज्ञ डगौराले बताए  । जलपक्षी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जीपीएस’सहितको क्यामेराको प्रयोग गरिने छ । हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमै गणना हुने उनले बताए । 

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक बर्ष जलपक्षी गणना हुँदै आएको छ । गणनाका क्रममा तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सीमसार क्षेत्र तथा तालतलैया, नदी तथा जलाधार क्षेत्रमा जलपक्षी गणनको कार्य हुने डगौराले जानकारी दिए ।

कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६० बढी प्रजातिका चरासाइबेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन् । रैथाने प्रजातिका जलपक्षीसमेत यहाँ रहेका छन् । उनका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त ठाउँ भएकाले बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।

नेपालमा आठ सय ७७ प्रजातीका चरा पाइने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा मात्रै रैथाने प्रजातिका चार सय २३ प्रजातिका चरा पाइने गरेका छन् । नेपालमा सन् १९८७ देखि नियमित रुपमा जलपक्षी गणना हुँदै आएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update