Sagun Khabar
बैतडीमा स्थायी शिक्षक फोन ‘स्वीचअफ’ गरेर घर बसेपछि... 

बैतडी- बिदामा घर गएका बैतडीका एक शिक्षक झण्डै  एक महिनादेखि  विद्यालयमा अनुपस्थित रहेका पाइएको छ । जिल्लाको  सुर्नया गाउँपालिका वडा नं  ४ स्थित  राष्ट्रिय मावि फाटीगडाका स्थायी शिक्षक जयबहादुर  महरा झण्डै  एक महिना देखि अनुपस्थित रहेका पाइएको हो ।

जय बहादुर अङ्ग्रेजी विषयका निमावि स्थायी शिक्षक हुन् ।  उनी फोन स्वीचअफ गरे घर बसेका बताइएको  छ । शिक्षक लामो समय  घर  बसेपछि  विद्यार्थीहरु पढाइबाट बञ्चित भएका छन् । शिक्षक महरा विद्यालयलाई कुनै  जानकारी नदिएर बिदामा बसेका हुन् । शिक्षक महरा पुष २५ गते  देखि माघ २ गते  सम्म भएको बिदामा तराइ गएका थिए । माघ तीन गतेबाट विद्यालय खुलेपनि शिक्षक उपस्थित नभएका विद्यालयका प्रधानाध्यापक गंगादत्त भट्टले जानकारी दिए । शिक्षक महरा सम्पर्कमा नआएपछि  विद्यालयले  पत्र काटेर  घर बस्नुको  कारण माग गरेको छ ।

 आइतबार  एक पत्र जारी गरेर  विद्यालय  परिवारले कुनै सूचना बिना माघ तीन गते  बाट अनुपस्थित रहेका महरालाई अनुपस्थित हुनुको  कारण सहित  तीन दिन भित्र स्पष्टीकरण पेश गर्न  अनुरोध गरेको हो । स्पष्टीकरण पेश नगरे नियमाअनुसार  कारबाही हुने  समेत पत्रमा उल्लेख गरिएको  छ ।

सामुदायिक विद्यालयमा कार्यरत केहि  स्थायी शिक्षकहरुको  मनपरिले  बालबालिकाहरुको भविष्य अन्धकार भैरहेको भन्दै आभिभावकहरु आक्रोसित भएका छन् । दोगडाकेदारको कफलकोट घर भएका शिक्षक महरा  हाल कञ्चनपुर बस्दै  आएका बताइएको छ  ।  शिक्षक महरा लामो समय किन घर बसेका हुन खुल्न सकेको  छैन् । यता सगुनखबरले  समेत सम्पर्क  गर्नखोज्दा उनको  फोन स्वीचअफ  छ। 


 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update