Sagun Khabar
ईश्वरीगंगा धामदेखि जगन्नाथ मन्दिर सम्म सिंढी सहितको पदमार्ग निर्माण शुरु 

बैतडीको प्रसिद्ध ईश्वरी गंगा धामदेखि जगन्नाथ मन्दिर सम्मको पदमार्ग निर्माण कार्य शुरु गरिएको छ । ८ हजार ८४८ सिंढी सहित निर्माण हुन लागेको पदमार्ग निर्माणको काम अघि बढाइएको अनुगमन समितिका संयोजक कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रसिद्ध ईश्वरीगंगा धामदेखि गढीमा अवस्थित जगन्नाथ मन्दिर सम्म पुग्ने सिंढी सहितको पदमार्ग निर्माणका लागि अहिले पीसीसी गर्ने कार्य भईरहेको चन्दले जानकारी दिनुभयो । सरकारी र निजी क्षेत्रबाट पूर्णता दिने उद्देश्य सहित सो पदमार्ग निर्माणका लागि साढे ९ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

चालु आर्थिक बर्षमा पदमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० लाख बजेट विनियोजन गरेको छ । यस्तै पदमार्ग निर्माणका लागि स्थानीयस्तरमा चन्दा संकलनको काम समेत भईरहेको छ ।

Atrya hospital

एक सिंढी बराबर ११ हजार लागत लाग्ने भएकाले एक व्यक्ति एक सिंढीको अवधारणा समेत ल्याइएको अनुगमन समिति संयोजक चन्दले जानकारी दिनुभयो । सिंढी निर्माणका लागि चन्दा दिने व्यक्तिको नाम सिंढीमै उल्लेख गरिने समेत उहाँले बताउनुभयो ।

धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण रहेको पदमार्ग निर्माणका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । जगन्नाथ र ईश्वरीगंगा धामको धार्मिक महत्व रहेकाले दुवै स्थलमा दर्शन गर्नेहरुका लागि सजिलो होस भनेर सिंढी सहितको पदमार्ग निर्माणको काम अघि बढाइएको निर्माण समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘जगन्नाथ र ईश्वरीगंगा धाम यो क्षेत्रको आस्थाका केन्द्र हुन् । दुवै ठाउँको दर्शन गर्ने दर्शनार्थीहरुलाई सहज होस भनेर सिंढी सहितको पदमार्ग निर्माणको काम शुरु गरिएको हो ।’

प्रसिद्ध ईश्वरीगंगा धाममा जगन्नाथमा चढाएको दुध पुग्ने जनविश्वास रही आएको छ । सो धाममा महाशिवरात्रीको अवसरमा ठूलो मेला लाग्ने गर्दछ भने कार्तिक शुक्ल अष्टमी र माघ शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । यस्तै असोज र चैतको नवरात्रमा नित्य पूजाआजा हुने गरेको चन्दले जानकारी दिनुभयो ।

सिंढी सहितको पदमार्ग निर्माण कार्य सम्पन्न भएमा धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा समेत गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update