Sagun Khabar
ठूला दलबीच सहकार्य आवश्यक : लेखक 

कञ्चनपुर –नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच सहमति, सहकार्य र संवाद आवश्यक रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकलाई अस्थिरताबाट जोगाउन ठूला दलहरुबीच सहकार्य आवश्यक रहेको बताएका हुन् । अहिलेको सरकार समीकरणमा नेकपा एमालेभित्र समेत असन्तुष्टि रहेको उनले बताए । उनले भने ‘नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ । जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।’ 

स्वास्थ्य सन्देश
Atrya hospital

कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुराकानी भने नभएको प्रमुख सचेतक लेखकले बताए । 

सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको भनाइ छ ।
उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update