Sagun Khabar
बिषादी मिसाएको खाना खुवाएपछि बैतडीमा एकै घरका तीन जना बिरामी 

बैतडी –खानामा बिषादी मिसाएर खुवाएपछि बैतडीमा एकै घरका तीन जना बिरामी परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका ५ मल्लोककस्यालीकी १८ बर्षीया करिश्मा बिष्टले शुक्रबार राति बिषादी मिसाएर खाना पकाएको र उक्त खाना आफ्ना श्रीमान, ससुरा र सासुलाई खुवाएपछि तीनै जना बिरामी परेका छन् । 

बिषादी मिसाएको खाना खाएपछि करिश्माका ससुरा ५५ बर्षीय कलुवा बिष्ट, सासु ५४ बर्षीया माधवी बिष्ट र श्रीमान २२ बर्षीय करन बिष्ट बिरामी परेका हुन् । करिश्माले भने उक्त खाना नखाएको जानकारी दिइएको छ । आफूलाई खाने मन छैन् भनेर उनले पकाएको खाना श्रीमानसहित घरपरिवारका सदस्यहरुलाई मात्रै खुवाएको प्रहरीले जनाएको छ । करिश्माले गहुँको पिठोमा बिषादी मिसाएर मुछेको र त्यसबाट बनेको रोटी घरपरिवारका सदस्यहरुलाई खुवाएको खुल्न आएको छ । 

Atrya hospital

उक्त खाना खाएपछि तीनैजनाले वान्ता गरेका थिए । त्यसपछि खानामा बिषादी मिसाएको खुल्न आएको रौलेश्वर प्रहरीचौकीले जनाएको छ । बिषादी मिसिएको खानापछि बिरामी परेका करन र माधवीलाई शनिबार बिहानै उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र उनीहरु दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी बरिष्ठ नायब निरीक्षक भुपालसिंह थापाले बताए । उपचार गराइरहेका दुवैजनाको अवस्था मध्यम रहेको छ । 

यस्तै करिश्मा ससुरा कलुवा बिष्टलाई पनि उपचारका लागि डडेल्धुरा पठाइएको छ । दुई जनाभन्दा उनको अवस्था सामान्य रहेकाले बिहान अस्पताल नगएको तर प्रहरीले घटनाका बिषयमा जानकारी पाएपछि उनलाई पनि उपचारका लागि डडेल्धुरा पठाएको थापाले बताए । 

खानामा बिषादी मिसाउने करिश्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले खानामा बिषादी किन मिसाइन भन्ने कुरा खुल्न सकेको छैन् । मुसा मार्ने बिषादी खानामा मिसाएको प्रारम्भिक जानकारी आएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update