
बझाङ–बझाङको बित्थडचीर गाउँपालिका वडा नं ९ को कार्यालयले होजीयारी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ ।
वडा नं ९ भित्र रहेका महिलाहरुका लागि होजीयारी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता एवं वडा अध्यक्ष हरिशचन्द्र जोशीले जानकारी दिए ।
महिलाहरुलाई आत्मनिर्भरताको बाटोमा डोर्याउनका लागि होजीयारी तालिम सञ्चालन गरिएको उनले बताए । २० दिनसम्म उक्त तालिम सञ्चालन हुने वडा अध्यक्ष जोशीले बताए ।
तालिमको उद्दघाटन गर्दै बित्थडचीर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी मल्लले तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सहयोग गर्ने बताइन् । घरको चुलोचौको सीमित रहेका महिलाहरुका लागि यस्ता सीपमूलक तालिमले आत्मनिर्भर बन्नका लागि सहयोग पुग्ने उनले बताइन् ।
यस्तै बित्थडचीर गाउँपालिका वडा नं ९ का कार्यवाहक वडा अध्यक्ष मानसिंह रावलले महिलाहरुको क्षमता अभिवृद्धि गरी उनीहरुका आर्थिक उपार्जनमा टेवा पुर्याउन तालिमको आयोजना गरेको बताए ।