
बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेहीस्थित डिलाशैनी भगवतीको नवनिर्मित मन्दिरको प्रतिष्ठा सम्पन्न गरिएको छ ।
भगवतीको नयाँ मन्दिर निर्माण गरिएपछि विधिपूर्वक प्रतिष्ठा गरिएको मन्दिरका मूल पूजारी हरिशचन्द्र भट्टले बताए । नयाँ मन्दिर निर्माण भएपछि गंगोत्रीबाट जल ल्याएर मन्दिरको प्रतिष्ठा गरिएको उनले बताए ।
स्थानीय श्रद्धालुहरुको सहभागितामा हिजोदेखि शुरु भएको प्रतिष्ठा कार्यक्रम आज पूर्णाहूतीसहित सम्पन्न भएको पूजारी भट्टले बताए । कलशयात्रासहित मन्दिरको प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको हो ।
डिलाशैनी भगवतीको नयाँ मन्दिर २०८० माघ महिनादेखि निर्माण कार्य शुरु गरिएको थियो । उक्त मन्दिर निर्माणका लागि २ करोड बजेट विनियोजन भएको थियो । मन्दिरको छानामा ताम्र पत्र लगाइएको छ ।
डिलाशैनी भगवतीलाई यो क्षेत्रको शक्तिशाली पीठको रुपमा पूजाआजा गरिँदै आएको छ । बरदायनी भगवतीको रुपमा देवीको पूजाआजा गरिने पूजारी भट्टले बताए ।
डिलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीको अवसरमा जात्रा लाग्ने गर्दछ । यो जात्रामा भगवतीको प्रसादको रुपमा अनन्त डोरो बाँध्ने चलन रही आएको छ ।
अनन्त डोरोले रोगब्याधी र अन्य कष्टबाट बचाउने जनविश्वास रही आएको पूजारी भट्टले बताए । बिशेष मन्त्रद्वारा अभिमन्त्रित डोरोलाई महिला तथा पुरुष दर्शनार्थीहरुले नाडीमा बाँध्ने गरेका छन् ।
मल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका साथै असोजको नवरात्री, कार्तिक शुक्ल पक्ष र चैते नवरात्रीमा जात्रा हुने गरेको छ । अन्य बेलाको जात्रामा बलि हुने भएपनि अनन्त चतुर्दशीको जात्रामा बलि नहुने पूजारी भट्टले बताए ।