बैतडी–बैतडीको प्रसिद्ध जगन्नाथ मन्दिरमा देवदारको धुरी पुर्याइएको छ ।
गएको असोज महिनामा निङ्गलाशैनी भगवतीको जंगलमा जगन्नाथ मन्दिरका लागि देवदारको धुरी काटिएको थियो । उक्त धुरी शनिबार बाजागाजासहित जगन्नाथ मन्दिरमा पुर्याइएको स्थानीय मोहित भण्डारीले बताए ।
जगन्नाथ मन्दिर पुनर्निर्माणको काम भइरहेकाले परम्परा अनुसार निङ्गलाशैनी भगवतीको जंगलबाट धुरी उपलब्ध गराइएको हो ।
निङ्गलाशैनी मन्दिरमा पूजाआजा गरेपछि जगन्नाथ मन्दिरमा धुरी लगिएको थियो ।
निङ्गलाशैनी मन्दिरको स्थापित परम्परा अनुसार स्थानीय लावड जातीद्वारा गएको असोजमा देवदारको धुरी काट्ने कार्य सम्पन्न गरिएको थियो ।
उक्त धुरीलाई स्थानीय श्रद्धालु, सुरक्षाकर्मी लगायतको सहभागितामा काँधमा बोकेर मन्दिरमा पुर्याइएको भण्डारीले बताए ।
मन्दिरको धुरीका लागि प्रयोग गरिने देवदारको काठलाई हिन्दू धर्ममा निकै पवित्र र देवताहरुको वृक्षका रुपमा लिने गरिन्छ । धार्मिक महत्वका साथै यो काठ निकै बलियो र कीरा नलाग्ने खालको हुन्छ ।




