Sagun Khabar
यस बर्षको गौरा भदौ १२ देखि शुरु हुने, भदौ १५ गते अठ्यावाली 

बैतडी–सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा यो बर्ष भदौ १२ गतेदेखि शुरु हुने भएको छ । 

भदौ १२ गते बिरुडापञ्चमीका दिन बिरुडा भिजाएर गौराको शुरुवात गरिने स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । 

गहुँ, गहत, मास, गुराउँस र केराउ गरेर पाँच प्रकार अन्नलाई बिरुडा मान्ने प्रचलन रही आएको छ । बिरुडापञ्चमीका दिन पाँचै प्रकारका अन्नलाई मिसाएर तामाको भाँडामा भिजाउने प्रचलन रही आएको छ । कतिपय ठाउँमा बिरुडा मिसाएर मात्रै नभिजाइकन पनि राख्ने चलन रही आएको छ । 

भाद्र कृष्ण अथवा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र शुक्ल पक्षमा परेको ज्योतिष पण्डित कृष्णानन्द अवस्थीले बताए । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा भन्ने चलन रही आएको छ । कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ । 

गौरामा ब्रतालु महिलाहरुले बिशेष प्रकारको धागो अर्थात दुबधागो लगाउने प्रचलन रहेको छ । विवाहित महिलाहरुले दुबधागो धारण गर्ने गरेका छन् । नयाँ दुबधागो लगाउनेहरुका लागि पनि शुक्ल पक्षमा परेको गौरालाई शुभ मान्ने गरिएको स्थानीय संस्कृतिका जानकार शिवराज भट्टले बताए । 

गौरा पर्वमा गौरा र महेश्वरको पूजाआजा गर्ने चलन रही आएको छ । यो पर्वमा बिरुडाले नै गौरा र महेश्वरको पूजाआजा गर्ने गरिन्छ । 

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका कुवा अथवा धारा लगेर धुने प्रचलन रही आएको छ । 

अमुक्ताभरण सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । धानखेतबाट साँवा, अपामार्ग लगायतका वनस्पतीहरु ल्याएर गौराको प्रतिमूर्ती बनाउने प्रचलन छ । 

गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली हो । यो बर्ष भदौ १५ गते अठ्यावाली परेको छ । अठ्यावालीका दिन ब्रतालु महिलाहरुले गौरा खलामा गौरादेवीको पूजाआजा गर्ने गर्दछन् । 

गौरामा गाइने फाग र सगुन गाउँदै बिरुडाले गौरा देवीको पूजाआजा गर्ने चलन रही आएको सुर्नया ६ का हरिना अवस्थीले बताइन् । अठ्यावालीका दिन दिनभरी गौरा देवीको पूजाआजा गरेर ब्रतालु महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन् । 

गौरा माताको प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान,छोराछोरी, आफन्तजनहरुको टाउको पुज्ने चलन रही आएको छ । लामो आयु, आरोग्य, धनधान्य प्राप्तिको कामनासहित टाउको पुज्ने चलन रही आएको छ । 
गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेश अनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । 

गाउँघरमा यो बर्षको गौरा पर्वको रौनक शुरु भइसकेको छ । विभिन्न कामको सिलसिलामा घर बाहिर रहेकाहरु पनि घर फर्कने क्रम बढेको छ । परदेशीहरु पनि गौराका लागि घर फर्कन थालेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update