
बैतडी –सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
यो बर्षको गौरा आजदेखि शुरु भएको ज्योतिष पण्डित कृष्णानन्द अवस्थीले बताए । भाद्र शुक्ल पञ्चमीका दिन बिरुडा भिजाएर ब्रतालु महिलाहरुले गौरा पर्वको शुरुवात गरेका छन् ।
गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीका दिन घर–घरमा ब्रतालु महिलाहरुले तामा वा पित्तलको भाडामा पाँच प्रकारका अन्न भिजाउने चलन रही आएको छ ।
गहुँ, गहत, मास, गुराउँस र केराउ गरेर पाँच प्रकारका अन्नलाई बिरुडाको रुपमा भिजाउने र पञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजा गर्ने चलन रही आएको छ ।
ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको सुर्नया ६ का हरिना अवस्थीले बताइन् ।
गौरापर्व सुदूरपश्चिमको मौलिक चाड रहेको समेत उनले बताइन् ।यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् ।
पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
यो बर्षको गौरा शुक्ल पक्षमा परेको छ । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रही आएको छ ।
गौरा पर्व शुरु भएसंगै यहाँका गाउँघरमा चहलपहल बढेको छ । गौराका लागि घर बाहिर रहेकाहरु समेत घर फर्केकाले गौरामा रमाइलो हुने गरेको सुर्नया–६ का नवराज अवस्थीले बताए ।