Sagun Khabar
बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुइँचो 

बैतडी –नवरात्र शुरु भएसँगै बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । नवरात्र उपासना गरि देवीको दर्शन गर्ने परम्परा रहेकाले शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको हो । 

दशैँको समयमा दर्शनका लागि घर बाहिर रहेकाहरु पनि आउने भएकाले शक्तिपीठहरुमा दशैँको समयमा चहलपहल हुने गरेको त्रिपुरासुन्दरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह थापाले बताए । यहाँका शक्तिपीठ तथा मन्दिरहरुमा दशैँको समयमा बसाइसराई गरेर गएकाहरु पनि आउने गर्दछन् । 

जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा दशैँको समयमा हजारौं दर्शनार्थीहरु पुग्ने गरेका निङ्गलाशैनी भगवती मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । अन्य समयको तुलनामा दशैँको समयमा दर्शनार्थीहरु बढी आउने गरेका उनले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीका दिन पशुबलिसहित जात्रा हुने भएकाले भाकल गरेका भक्तजनहरु टाढाटाढाबाट आउने गरेका उनले बताए । उनले भने,‘दशैँको समयमा यहाँ भक्तजनहरुको भीड लाग्ने गर्दछ । नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु पुग्ने गरेका छन् ।’

जिल्लाको मेलौली भगवती मन्दिरमा दशैँको समयमा दर्शनार्थीहरुको घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए । यो समयमा तल्लोसोराड क्षेत्रका मात्रै नभएर अन्य ठाउँका भक्तजनहरु समेत भगवतीको दर्शनका लागि पुग्ने गरेका उनले बताए । 

जिल्लाको पुर्चौंडी नगरपालिका–८ मा रहेको डिलाशैनी भगवती मन्दिरमा दशैँको समयमा दर्शन गर्नेको संख्या बढी हुने मन्दिरका पूजारी हरिशचन्द्र भट्टले बताए । भगवतीका अधिकांश मन्दिरमा महाष्टमीका दिन बलिसहित जात्रा हुने भएपनि यो मन्दिरमा दशैँको दिन बलिसहित जात्रा हुने गरेको उनले बताए । 

जिल्लाका कफलाशैनी, फाल्ङाशैनी, कालशैनी लगायत देवीका मन्दिरमा दशैँको समयमा भक्तजन बढी हुने गरेका फाल्ङाशैनी भगवती मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । 

यस्तै पाटनस्थित उदयदेव मन्दिरमा पनि भक्तजनहरुको घुइँचो बढेको पूजारी लवदेव जोशीले बताए । यो मन्दिरमा महानवमीका दिन राँगाको बलिसहित जात्रा हुने गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update