बैतडी–बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा यही कार्तिक १८ र १९ गते लाग्ने जात्राको तयारी तीव्र रुपमा भइरहेको छ । जात्रालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि मेलौली धार्मिक सेवा समितिले १९ बुँदे अनुरोध जारी गरेको छ ।
मेलौली भगवतीको जात्रालाई शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न गर्नका लागि समितिका तर्फबाट १९ बुँदे अनुरोध जारी गरिएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए ।
समितिले जारी गरेको अनुरोधमा मन्दिरमा ल्याइने सेवा तथा भण्डार समयमै ल्याउन आग्रह गरिएको छ । मन्दिरमा स्या दर्ता गर्दा पालैपालो शान्तिपूर्ण रुपमा गर्न समितिले अनुरोध गरेको छ ।
यस्तै राँगाको बलि चढाउँदा आवश्यक सुरक्षाको प्रबन्ध, सरसफाइ लगायतका कुरामा बलि चढाउने व्यक्तिले ध्यान दिनुपर्ने समितिले जनाएको छ । यस्तै जात्राको समयमा मन्दिर परिसरमा व्यापार गर्नेहरुले समितिमा स्टल दर्ता गराएरमात्रै व्यापार व्यवसाय गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तै जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि मन्दिर परिसरभित्र मदिराको कारोबार र सेवन पूर्ण रुपमा निषेध गरिएको समिति अध्यक्ष नायकले बताए । कसैले सूचनाको उल्लंघन गरेमा विक्रि वितरण गर्नेलाई १० हजार, ओसारपोसार गर्नेलाई ५ हजार र सेवन गरी होहल्ला गर्नेलाई २ हजार पाँच सय रुपैयाँ जरीवाना तोकिएको छ । यस्तै स्टलभित्र कसैले मदिराको कारोबार गरेको पाइएमा उक्त स्टल तत्कालै बन्द गरिने समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै जात्राको समयमा सिसा लगायतका फोहरहरु छोड्ने प्रवृति बढ्दै गएकाले सिसाका बोतल प्रयोगमा रोक लगाइएको छ भने मन्दिर परिसरभित्र सवारी साधन पनि निषेध गरिएको छ ।
मेलामा जुवातास लगायतका क्रियाकलापहरु पूर्ण रुपमा निषेध गरिएको छ भने जुवाजन्य कुनै कार्यक्रम पनि नगर्न आग्रह गरिएको छ ।
मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन ठूलो जात्रा लाग्ने गर्दछ । यो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ ।







