Sagun Khabar
गौरीफन्टा नाकामा ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित चार जना नेपाली पक्राउ

कैलाली –कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक किलो चाँदीसहित चार जना नेपाली नागरिक पक्राउ परेका छन् । कैलाली, बर्दिया र सुर्खेत घर भएका उनीहरूलाई भारतीय प्रहरीले मङ्गलवार साँझ नेपाल प्रवेश गर्ने क्रममा पक्राउ गरेको हो । 

नेपाल–भारत सीमा रहेको बिओपी गौरीफन्टा चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र क्राइम ब्रान्चको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा बर्दियाको गेरूवा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय दीपकबहादुर सिंह, सुर्खेतको साविक बिजौरा–५ का ३७ वर्षीय भुवनसिंह चलाउने, कैलालीको दरख–२ का ४७ वर्षीय जीवनकुमार थारु र कैलालीको बलिया–३ का ५६ वर्षीय खेमराज  देवकोटा रहेको भारतीय प्रहरीले जनाएको छ । 

भारतीय प्रहरीका अनुसार उनीहरूबाट ६१६.९ ग्राम अर्थात ५२.९ तोला सुन र ७८०.८ ग्राम चाँदी बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले महाराष्ट्रको आभुषण पसलबाट सुन र चाँदीका गरगहना चोरी गरी नेपालतर्फ ल्याएको खुलेको प्रहरीले जनाएको छ ।

चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले भारतको लखिमपुर खिरी पठाएको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update