Sagun Khabar
कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा बैतडीका एकसहित दश जना पक्राउ

कैलाली – गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा र कैलाली कारागारमा आगजनी गरेको आरोपमा दश जना पक्राउ परेका छन् । अदालतमा आगजनी गरेको आरोपमा ६ जना तथा कारागारमा आगजनी गरेको आरोपमा थप चार जना पक्राउ परेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई धनगढीका विभिन्न क्षेत्रबाट विभिन्न मितिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले बताए । 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– ३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी– ३  बस्दै आएका २४ वर्षीय भरत बम, धनगढी–७ का एलेक्स चन्द, लक्ष्मण बहादुर विष्ट र धनगढी–१ का मनोज विष्ट रहेका छन् ।  

भदौ २४ गतेको आन्दोलनको क्रममा धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, कार्यालय भवनभित्र रहेका विभिन्न मुद्दाका सक्कलै मिसिल, कम्प्युटर लगायत सूचना प्रविधिका उपकरणहरुमा आगजनी र तोडफोड भएको थियो । सोही आरोपमा प्रहरीले धनगढीबाट ६ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

जिल्ला अदालतले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, कैलाली कारागारमा आगजनी गरेको आरोपमा धनगढी–२ का २८ वर्षीय गोपाल भट्ट, धनगढी–३ का जेम्स भनिने सुरज कटुवाल, धनगढी–९ का ४० वर्षीय बसन्तराज जोशी र १९ वर्षीय अंकित सक्सेना पक्राउ परेको प्रहरी निरीक्षक विष्टले बताए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update