Sagun Khabar
उत्कृष्ट रुपान्तरण सहजकर्तालाई सम्मान 

बैतडी–बैतडीमा उत्कृष्ट रुपान्तरण सहजकर्तालाई सम्मान गरिएको छ । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा पिसवीनले सञ्चालन गरिरहेको बालविवाह अन्त्यका लागि विश्वव्यापी कार्यक्रम अन्तर्गत सक्रिय रहेका रुपान्तरण सहजकर्ताहरुलाई सम्मान गरिएको हो । 

उक्त कार्यक्रम अन्तर्गत बैतडीका सातओटा पालिकामा क्रियाशील ४७ जना रुपान्तरण सहजकर्तामध्ये ६ जना उत्कृष्ट सहजकर्तालाई सम्मान गरिएको पिसवीनका पालिका संयोजक कृष्ण भट्टले जानकारी दिए । 

गत बर्षमा सञ्चालन भएको कार्यक्रम अन्तर्गत उत्कृष्ट काम गर्ने ६ जनालाई केही दिन अगाडि पाटनमा आयोजना गरिएको कार्यक्रममा सम्मान गरिएको भट्टले बताए । 

सम्मानित हुुनेमा दशरथचन्द नगरपालिका –२ की सरीता बिजले, दशरथचन्द नगरपालिका–९ की लक्ष्मी लुहार, दोगडाकेदार गाउँपालिका –७ की भागरथी भट्ट, पाटन नगरपालिका –९ का केपी भट्ट, सुर्नया गाउँपालिका–८ की हजारी महरा र मेलौली नगरपालिका– ५ की रेखा चन्द रहेका छन् । 

रुपान्तरण सहजकर्ताहरुले गरेको कामको उच्च मूल्याकंन गर्दै प्रोत्साहनस्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको पालिका संयोजक भट्टले बताए । 

पिसवीनले दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा बालविवाह अन्त्यका लागि विश्वव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ ।  

उक्त कार्यक्रम अन्तर्गत किशोरकिशोरीको सहभागिता रहेको ३० हप्ते रुपान्तरण कक्षा समेत सञ्चालन गर्ने गरिएको छ । 

रुपान्तरण कक्षामा किशोरकिशोरीहरुलाई जिवनोपयोगी सीप लगायतका बिषयमा जानकारी दिने गरिएको पिसवीनका पालिका संयोजक भट्टले बताए । 

रुपान्तरण कक्षामा बालविवाहले पार्ने असरका बिषयमा जानकारी दिने, बालविवाहविरुद्धका अभियान सञ्चालन गर्ने लगायतका बिषयमा गहन छलफल गर्ने गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए ।  

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update