Sagun Khabar
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा नयाँ मेडिकल अधिकृत हाजिर 

बैतडी –बैतडीको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ मेडिकल अधिकृत हाजिर भएका छन् । 

गएको ६ महिनादेखि मेडिकल अधिकृतविहिन रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नवीनकुमार शाह नयाँ मेडिकल अधिकृतको रुपमा हाजिर भएका स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । 

मेलौली नगरपालिकाले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि नयाँ मेडिकल अधिकृतलाई करार सेवामा भर्ना गरेको हो । नगरपालिकाले मेडिकल अधिकृत करार सेवामा भर्ना गर्ने हिसाबले विज्ञापन आह्वान गरेको र शाहलाई नयाँ मेडिकल अधिकृतको रुपमा भर्ना गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए । 

प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ मेडिकल अधिकृत आएसँगै रोकिएका सेवाहरु सुचारु भएको जनस्वास्थ्य निरीक्षक दयालले बताए । 

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र तल्लासोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको छ । तर चिकित्सक नहुँदा यसअघि बिरामीहरुले अन्यत्र धाउनुपर्ने बाध्यता रही आएको थियो । नयाँ चिकित्सक हाजिर भएसँगै धेरै समस्या समाधान भएको दयालले बताए । 

स्वास्थ्य केन्द्रमा नयाँ चिकित्सक आएसँगै स्वास्थ्य बीमाका सेवाग्राहीहरुलाई समेत सहज भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र मेलौली स्वास्थ्य बीमाको सूचीकृत स्वास्थ्य संस्था रहेको छ । 

नयाँ चिकित्सक आएसँगै पोष्टमार्टम सेवा, एक्सरे,इसिजी लगायतका सेवाहरु सुचारु भएका छन् भने अपांगता परिचयपत्र लगायतका सेवाहरुका लागि समेत सहज भएको छ । 

२०१६ सालमा स्वास्थ्यचौकी स्थापना भएको मेलौलीमा २०५६ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको थियो । तर यो प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृत दरबन्दी रहेको भएपनि हरेक बर्ष चिकित्सकको अभाव झेल्दै आएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update