बैतडी–बैतडीको पाटन नगरपालिका–३ गुरुडास्थित सिगास मावि गौरीशंकर पोखरीले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकहरुसँग अन्तरक्रिया गरेको छ ।
विद्यालय सेवा क्षेत्रभित्रका १२ ओटा टोलमा पुगेर शुक्रबार अभिभावकहरुसँग अन्तरक्रिया गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।
विद्यालयको शैक्षिक बार्षिक कार्ययोजना २०८२ अनुसार बिदाको दिनमा समेत शिक्षक र विद्यालय व्यस्थापन समितिका पदाधिकारीहरुले टोलमै पुगेर अन्तरक्रिया गरेका हुन् ।
विद्यालय र समुदायको सम्बन्ध बढाउने, विद्यालय शिक्षाप्रति अभिभावकहरुलाई सक्रिय गराउने, बालबालिकाहरुका खराब आनीबानीलाई सुधार गर्ने, विद्यालयप्रति अभिभावकहरुको अपनत्व बढाउने लगायतका उद्देश्य राखेर अन्तरक्रिया गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाटले बताए ।
सामुदायिक विद्यालयप्रति समुदायको सकारात्मक दृष्टिकोण बनाउन यो अन्तरक्रियाले महत्वपूर्ण भूमिका खेलेको सिगास माविका प्रधानाध्यापक मानबहादुर चन्दले बताए ।
टोलमै पुगेर अभिभावकहरुसँग अन्तरक्रिया गर्दा शैक्षिक गुणस्तर सुधारका लागि अपनाउन सकिने बिषयमा समेत छलफल भएको प्रधानाध्यापक चन्दले बताए ।
टोल–टोलमै विद्यालयको टोली पुगेर अन्तरक्रिया –छलफल गर्दा शिक्षा क्षेत्र सुधारमा महत्वपूर्ण सहयोग पुग्ने पाटन नगरपालिकाको शिक्षा शाखामा कार्यरत बृखराज भट्टले बताए ।
अन्तरक्रिया र भेटघाटबाट विद्यालय र समुदायबीच सम्बन्ध बलियो, विद्यालयका समस्याका बारेमा थाहा हुने र अभिभावकहरुले समेत आफ्ना बालबालिकाहरुका बिषयमा थप जानकारी प्राप्त हुने भएकाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा भट्टले जोड दिए ।




