बैतडी –बैतडी कारागारबाट भागेका एकजना कैदीबन्दी अझै फरार रहेका छन् ।
जेनजी प्रदर्शनको क्रममा गएको भदौ २४ गते कारागारबाट भागेका ६२ जना थुनुवा र कैदीबन्दीमध्ये एकजना अझै फरार रहेका कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।
जेनजी प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये जबरजस्तीकरणी मुद्दाका राजेश लुहार फरार रहेका बताइएको छ । पाटन नगरपालिका–३ गुजर घर भएका लुहारको खोजी कार्य जारी रहेको भएपनि उनी सम्पर्कमा नरेहका भण्डारीले बताइन् ।
जिल्ला अदालतको फैसलाबाट जबरजस्तीकरणी मुद्दामा १० बर्षे कैद सजाय भोगिरहेका लुहार जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते फरार भएका हुन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । फरार रहेका कैदीबन्दी स्वेच्छिक रुपमा सम्पर्कमा नआए प्रचलित कानुन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।
फरार रहेका कैदीबन्दीहरुको बारेमा कसैलाई जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई गोप्य रुपमा जानकारी गराउन आग्रह गरिएको छ ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको सन्दर्भमा फरार कैदीबन्दीलाई सम्भावित चुनौतीको रुपमा राखिएको छ । फरार रहेका कैदीबन्दीहरुको खोजी कार्यमा सुरक्षा निकायलाई परिचालन गरिएको सरकारी भनाइ रहेको छ ।





