बैतडी –मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै बैतडीका नन्दराज भट्टलाई नेपाल जेसिजले उत्कृष्ट युवा पुरस्कार २०२५ प्रदान गरेको छ ।
जेसिजको जनकपुरधाममा सम्पन्न ५२ औं राष्ट्रिय महाधिवेशनले बैतडीको सुर्नया गाउँपालिका–३ गोयली घर भइ हाल धनगढी बस्दै आएका भट्टलाई स्वर्ण पदकसहित सम्मान गरेको हो ।
जन्मजात अपाङ्ग रहेका भट्टले अपाङ्गतालाई कमजोरी नभई समाज परिवर्तनको शक्ति बनाउँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र सशक्तीकरणका क्षेत्रमा निरन्तर योगदान गर्दै आएका छन् । उनले विगत १५ बर्षदेखि मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएका छन् । उनले गरेको मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा गरेको संघर्ष, सेवा र सामाजिक प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै नेपाल जेसिजले राष्ट्रियस्तरको यो सम्मान प्रदान गरेको हो ।
जनकपुरधाममा आयोजित महाधिवेशनमा देशभरका जेसिज प्रतिनिधिहरूको उपस्थितिमा भट्टलाई सम्मान गरिएको थियो । वक्ताहरूले भट्टको जीवन संघर्ष, आत्मविश्वास र निरन्तरताले युवापुस्तालाई प्रेरणा दिएको उल्लेख गरेका छन् ।
महाधिवेशनअन्तर्गत विभिन्न विधामा १० जना उत्कृष्ट युवाहरूलाई सम्मान गरिएको थियो । सोही अवसरमा सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा योगदान पु¥याउने अन्य व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको छ ।
नेपाल जेसिजले युवाहरूलाई नेतृत्व, सेवा र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने उद्देश्यले यस्ता राष्ट्रिय कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ ।
सम्मान प्राप्त गरेपछि भट्टले आफूलाई सिफारिस गर्ने जेसिज फुलबारी शाखाप्रति धन्यवाद व्यक्त गरेका छन् । सम्मानले आफूलाई सामाजिक न्याय र मानव अधिकारको क्षेत्र थप उत्साहित भएर काम गर्ने हौसला मिलेको बताएका छन् ।
आफूले अहिले पनि दलित, अपांगता भएका व्यक्ति, पछाडि परेका समुदायका हकहितका लागि काम गरिरहेको भट्टले बताए ।




