बैतडी–नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गरेर बैतडी कांग्रेसले पालिकास्तरीय बैठकलाई जारी राखेको छ । १५ औं महाधिवेशनको तयारीका साथै तल्लो तहका अधिवेशनको बिषयमा छलफल गर्न पालिकास्तरीय बैठक चलिरहेका नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
आइतबार जिल्लाको सिगास गाउँपालिकाको गाँजरी र पुर्चौंडी नगरपालिकाको गिरिजा बगडमा बैठक सम्पन्न गरिएको सचिव जोशीले बताए । दुवै ठाउँमा सम्पन्न भएका बैठकमा नेपाली कांग्रेसका पालिका समितिका पदाधिकारी र सदस्य, प्रदेश क्षेत्रीय समितिका सदस्य, महाधिवेशन प्रतिनिधि र कांग्रेसका क्रियाशील सदस्यहरुको सहभागिता रहेको थियो ।
बैठकमा नेपाली कांग्रेसको संगठन विस्तार, नयाँ क्रियाशील सदस्यता वितरण र वडा, पालिका र जिल्ला अधिवेशनका बिषयमा छलफल गर्ने गरिएको सचिव जोशीले बताए ।
दुवै पालिकामा भएका बैठकमा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पूर्व सभापति नरेन्द्रसिंह थापा, उपसभापति खगेन्द्रसिंह धामी, सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, कोषाध्यक्ष चक्रबहादुर चन्द, सहसचिव दिपेन्द्रबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यस्तै बैठकमा पुर्चौंडी नगरपालिकाका नगर प्रमुख दिपकबहादुर बम, पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद लगायतको सहभागिता रहेको थियो ।
पाटन, मेलौली, शिवनाथ र पञ्चेश्वरमा यसअघि नै बैठक सम्पन्न गरेको कांग्रेसले सोमबार सुर्नया र दोगडाकेदारमा बैठक गर्ने तयारी गरेको सचिव जोशीले बताए ।




