Sagun Khabar
बैतडीको पाटन–२ मा जेष्ठ नागरिकलाई कम्बल वितरण 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं २ को कार्यालयले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । 

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सोमबार एक कार्यक्रमको आयोजना गरेर वडाभरीका ४० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष महेशप्रसाद पन्तले बताए । 

२००९ देखि २०१२ साल सम्म जन्म मिति भएको गैरदलित जेष्ठ नागरिक र २०१८ देखि २०२१ साल सम्म जन्म मिति भएका दलित जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको उनले बताए । प्रति व्यक्ति एक थानका दरले कम्बल वितरण गरिएको हो । 

जेष्ठ नागरिकलाई सम्मान गर्ने वडा कार्यालयको कार्यक्रम अनुसार जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको पाटन नगरपालिका वडा नं २ का वडा सचिव शंकरदत्त पन्तले बताए । 

जेष्ठ नागरिकसम्म वडा सरकारको आभाष गराउन यो कार्यक्रम सञ्चालनमा ल्याइएको वडा अध्यक्ष पन्तले बताए ।

वडा कार्यालयले कम्बल वितरण गरेपछि जेष्ठ नागरिक पनि खुशी भएका छन् । चिसोको समयमा वडा कार्यालयले कम्बल वितरण गरेपछि निकै खुसी लागेको स्थानीय कृतबहादुर मल्लले बताए । 

वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान गर्दा निकै खुसी लागेको स्थानीय कलु लुहारले बताइन् । उनले भनिन्, ‘बुढेसकालको समयमा वडा कार्यालयले कम्बल दिँदा धेरै खुसी लागेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिदिनु पर्यो ।’

स्थानीय नागरिकको माग र आवश्यकता अनुसार वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको वडा अध्यक्ष पन्तले बताए । उनले भने, ‘हामीले स्थानीयहरुको माग र आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरिरहेका छौं । सोही अनुसार योजना र कार्यक्रम बनाएर काम गरिरहेका छौं ।’
 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update