बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
पुरानो समितिको म्याद सकिएपछि सोमबार विद्यालयमा भएको अभिभावक भेलाले सर्वसम्मत रुपमा गीता पाण्डेय जोशीको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति चयन गरेको समितिका सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए ।
यो सँगै विद्यालयले निरन्तर रुपमा महिला नेतृत्व पाएको छ । यसअघि पार्वती चन्द लगातार ६ बर्ष दशरथचन्द मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेकी थिइन् । चन्दको कार्यकाल सकिएपछि फेरि विद्यालयले महिलाको नै नेतृत्व पाएको प्रधानाध्यापक चन्दले बताए ।
गीता पाण्डेय जोशी अध्यक्ष रहेको समितिमा वसन्ती थापा धामी, रघुवीर नाथ, दिपेन्द्रबहादुर चन्द, नन्दा भट्ट र डम्मरसिंह रावल सदस्य रहेका छन् । यस्तै वडा अध्यक्ष केशवराज लेखक पदेन सदस्य रहेका छन् भने शिक्षक प्रतिनिधिबाट टेकबहादुर चन्द सदस्य रहेका छन् । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्द रहेका छन् ।
यसअघि पार्वती चन्दको नेतृत्वमा रहेको विद्यालय व्यवस्थापन समितिले विद्यालयको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । नेतृत्व हस्तान्तरण गर्दै अध्यक्ष चन्दले विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्वले विद्यालयको विकासमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरिन् ।
विद्यालय व्यवस्थापन समितिमा निरन्तर १५ बर्षदेखि सहभागी रहेको र ६ बर्ष नेतृत्व रहँदा विद्यालयको विकास सक्दो सहयोग गरेको चन्दले बताइन् । दशरथचन्द माविलाई नमूना मावि बनाउन उनले आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
सामुदायिक विद्यालयमा उत्कृष्ट नेतृत्व गरेको भन्दै निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्दलाई २०८१ सालमा राष्ट्रिय शिक्षा पुरस्कार समेत प्रदान गरिएको थियो ।
नयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष गीता पाण्डेय जोशीले पनि विद्यालयको सर्वाङ्गीण विकासमा आफूले पहल गर्ने बताइन् ।
२०१३ साल पौष १५ गते स्थापना भएको दशरथचन्द मावि सुन्दरखालीमा अहिले कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । अहिले विद्यालयमा २ सय २१ जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक चन्दले बताए ।
महिला नेतृत्वमा विद्यालयको चौतर्फी विकास भएको र निरन्तर महिला नेतृत्व पाएकाले विद्यालयमा थप विकास हुने आशा पलाएको प्रधानाध्यापक चन्दको भनाइ छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर महिला अभिभावकको सक्रियता बढेकोमा खुशी लागेको बताउँदै प्रधानाध्यापक चन्दले विद्यालय व्यवस्थापन समितिको कुशल नेतृत्वमा विद्यालय अगाडि बढ्ने बताए ।
यसैबीच दशरथचन्द मावि सुन्दरखालीले पौष १५ गते हुने बार्षिकोत्सवका लागि विभिन्न कार्यक्रमहरु शुरुवात भइसकेको जनाएको छ । पौष १५ गते मूल समारोह हुने र त्यसअघि विभिन्न विधाका कार्यक्रम सञ्चालन भइरहेका प्रधानाध्यापक चन्दले बताए ।




