बैतडी –नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले आगामी निर्वाचनमा नेपाली कांग्रेस एकढिक्का भएर चुनावमा होमिने बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले आज सदरमुकाम गढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति चन्द बैतडी कांग्रेस एकताबद्ध भएर अगाडि बढेको दाबी गरे ।
पौष ४ गतेदेखि ९ गतेसम्म जिल्लाका १० ओटै स्थानीय तहमा कांग्रेसको पालिकास्तरीय बैठक सम्पन्न गरेको र यसले नेपाली कांग्रेस एकढिक्का भएको सन्देश दिएको सभापति चन्दले बताए ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको सन्दर्भमा पत्रकारहरुले उठाएका प्रश्नको जवाफ दिँदै सभापति चन्दले बैतडी कांग्रेसले उच्चतम लोकतान्त्रिक अभ्यासबाट उम्मेदवार सिफारिश गरेको बताए । उनले भने, ‘हामीले सहमतिको अधिकतम प्रयास गर्यौं । सहमति नभएपछि मतविभाजन प्रक्रियाबाट उम्मेदवार सिफारिश गरेका छौं । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रको विधि सबैले मान्नुपर्छ ।’
विगतमा चुनाव आउनुभन्दा १०÷१५ दिन अगाडिमात्रै उम्मेदवार चयन गर्ने परिपाटीको अन्त्य गर्दै अहिले समयमै उम्मेदवार सिफारिश गरेको उनले बताए ।
अहिले संसद पुनस्र्थापनाका बिषयमा अदालतमा मुद्दा विचाराधिन रहेकाले संसद पुनस्र्थापना भए अदालतको आदेश मान्य हुने उनले बताए । त्यसपछि राष्ट्रिय सहमतिको सरकार बनाएर जेनजी पुस्ताका मागलाई सम्बोधन गर्ने हिसाबले अघि बढ्नुपर्नेमा सभापति चन्दले जोड दिए । उनले भने, ‘अहिले जेनजी पुस्ताले उठाएका मागलाई सम्बोधन गर्ने हिसाबले सबैले अगाडि बढ्नुपर्ने हुन्छ ।’
बैतडीलाई केन्द्रबाटै अन्याय भएको भन्दै सभापति चन्दले यहाँ दुई निर्वाचन क्षेत्र हुनुपर्ने बताए । विगत १२ बर्षदेखि बैतडीबाट संघीय संसदमा लगातार एमालेले जितेको बताउँदै उनले त्यो समयमा विकास के भएको हो नागरिकलाई थाहा हुनुपर्ने बताए । उनले भने, ‘विगत १२ बर्षदेखि बैतडीबाट संघीय संसदमा एमालेका उम्मेदवारले जितेका छन् । तर विकासको काम के भएको छ ? त्यो खोज्ने बेला आएको छ ।’
आफूमा बैतडीको विकास गर्ने हुटहुटी भएकाले एकपटक जिताएर हेर्न नागरिकलाई उनले आग्रह गरे ।




